सुनसरी । इटहरी उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार हेमकर्ण पौडेलले इटहरीको शैक्षिक गुणस्तर वृद्विका लागि गुरुयोजना बनाएर काम गर्ने बताएका छन् ।
मंगलबार इटहरीका बुद्विजिवीहरूसँगको छलफलमा उनले यस क्षेत्रको शिक्षाको गुणस्तर वृद्विका लागि आफूले विज्ञहरूसँग समन्वय गर्दै गुरुयोजना बनाएर काम गर्ने बताएका हुन् ।
‘हाल शैक्षिक हिसाब कमजोर भयो, नीति बनाउने, कानून बनाउने र व्यवस्थापकीय पक्षलाई अब्बल बनाउन मेरो महत्वपूर्ण भूमिका रहनेछ,’ पौडेलले भने, ‘शिक्षाको गुणस्तर वृद्धिका निम्ति एमालेको सरकारसँग कुनै योजना छैन, अभियान छैन, अब शिक्षा क्षेत्रको गुणस्तर वृद्विसँगै इटहरीको साझा विकासका लागि हामीलाई काम गर्ने अवसरको खाँचो छ ।’
उनले पछिल्लो समय सरकारी विद्यालयका शिक्षकहरू नै दलमा रहेकाले शिक्षाको गुणस्तर खस्किएको बताउँदै त्यसलाई परिष्कृत गर्नेमा जोड दिए ।
‘मानिस जिम्मेवार बन्नुपर्छ, दुई वर्ष बाटो नबनाउँदा केही बिग्रदैँन, यसपटक इटहरीका आम नागरिकलाई अनुभूत हुने किसिमको काम गर्ने तयारीमा हामी छौँ,’ उनले भने । हालको नेतृत्वले बाटो, बिजुली भन्ने मात्रै विकास बुझेको उल्लेख गर्दै पौडेलले भने, ‘एमाले हामीलाई चाहिन्छ, तर प्रतिपक्षमा आवश्यक छ ।’
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुँदैछ । इटहरीमा गठबन्धनको तर्फबाट मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एकीकृत समाजवादीको केशवकुमार विष्ट उम्मेदवार छन् ।







